Saturday, July 27News That Matters

विद्यालय बन्द गरेर सरस्वती माविका शिक्षकहरु शैक्षिक भ्रमणमा

खोटाङ, कात्तिक १९ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका छन् । विद्यालय नै बन्द गरेर विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीसहित शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका हुन् ।

एक साताका लागि कात्तिक १७ गतेबाट समाविको टोली भ्रमणमा निस्किएको बताइएको छ । शिक्षकहरु भ्रमणमा निस्किएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ । नमुना विद्यालयको कार्यक्रम अन्तरगत शिक्षकहरु भ्रमणमा गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्माले बताउनुभयो । ‘उहाँहरु नमुना विद्यालयको कार्यक्रम अन्तरगत भ्रमणमा गएको भन्ने जानकारी नगरपालिकामा आएको छ ।’ उहाँले भन्नुभयो, ‘काम विशेषले केही दिन म पनि बाहिर थिएँ, त्यसैले कहिलेसम्म र कहाँ गएको भन्ने मलाई जानकारी छैन् ।’

हप्ता दिनका लागि १७ गते भ्रमणमा निस्किएको टोली २३ गते फर्किने समाविका प्रधानाध्यापक शिवहरी ढकालले बताउनुभयो । विद्यालयले गत चैतमा तयार पारेको शैक्षिक पात्रो अनुसार शैक्षिक अध्ययन अनुगमन भ्रमणमा गएको उहाँको भनाइ छ । ‘भ्रमणका लागि हरेक वर्ष नमुमा विद्यालय विकास कार्यक्रम अन्तरगत संघबाट बजेट आउने गर्छ । हामी अघिल्लो चार वर्ष गएनौँ, यो वर्ष गत चैतमा तयार भएको शैक्षिक पात्रो अनुसार भ्रमणमा निस्किएका हौँ ।’ प्रधानाध्यापक ढकालले भन्नुभयो, ‘विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघका पदाधिकारी, वडाध्यक्ष, विद्यालयका कर्मचारी र शिक्षकहरु सबै भ्रमणमा छौँ । केही शिक्षकहरु भने भ्रमणमा आउनुभएको छैन् ।’

चितवन, तनहु र कास्कीका केही नमुना तथा उत्कृष्ट विद्यालयहरुको भ्रमण गरिरहेका समावी टोली भौगोलिक तथा सामाजिक अनुगमनका लागि मुस्ताङसम्म पुगेर फर्किने उहाँको भनाइ छ । हाल शैक्षिक भ्रमणको समयमा भएको विद्यालयको बिदा हिउँदे बिदाबाट कटाइने उहाँले बताउनुभयो ।

नमुमा विद्यालय विकास कार्यक्रमको रु २ लाख र परिक्षामा शिक्षकहरुले पाउने केही रकमले समावी टोली भ्रमणमा गएको बताइएको छ । नमुना एवं उत्कृष्ट विद्यालयको भ्रमण गरेर नमुना कामहरु आफ्नो विद्यालयमा पनि लागु गर्न टोली भ्रमणमा भएको जनाइएको छ ।

विद्यालय नै बन्द गरेर शिक्षकहरु भ्रमणमा निस्किएपछि कक्षा १२ सम्म पढाइ हुने समाविका विद्यार्थीको पढाइ भने प्रभावित भएको छ ।