Friday, April 17News That Matters

रावा बेसीमा वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज

गाउँपालिकाका सम्बन्धित वडा कार्यालयमा योजना सम्झौता गरिदै

खोटाङ, कात्तिक १९ । खोटाङको रावा बेसी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको छ । गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ ।

गाउँपालिकाबाट छनोट भएका पालिका स्तरीय एवं वडाबाट छनोट भएका वडा स्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको हो । चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन भएको बजेटबाट सञ्चालन हुने योजनाहरु उपभोक्ताको सहजताका लागि वडामै पुगेर सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख विनोद राईले बताउनुभयो । कात्तिक १३ गतेबाट सुरु भएको योजना सम्झौता कार्यक्रम १९ गते अर्थात आइतबार (आज) वडा नम्बर ६ हौँचुरमा सञ्चालन भएको थियो । ६ वटा वडा रहेको रावा बेसी गाउँपालिकामा हालसम्म वडा नम्बर ६ हौँचुरसँगै वडा नम्बर २ खार्पा, ४ डुम्रेधारापानी र ५ दुवेकोलका योजनाहरु सम्झौता भइसकेका छन् । वडा नम्बर १ कुभिण्डेमा २१ गते र वडा नम्बर ३ लामिडाँडामा २३ गते सम्झौता गर्ने कार्यतालिका रहेको उहाँको भनाइ छ ।

हालसम्म योजना सम्झौता भएका वडाहरुमा उल्लेखीय उपभोक्ताहरुको उपस्थिति रहेको उहाँले बताउनुभयो । ‘उपभोक्ताको सहजताका लागि चालु आर्थिक वर्षमा सञ्चालन हुने पालिका भरीका योजनाहरु हामी वडामै पुगेर सम्झौता गरिरहेका छौँ । हालसम्म हामी पुगेका वडाहरुमा प्राय सबै समितिहरु आउनुभएको छ ।’ राईले भन्नुभयो, ‘केही योजना छुटेका छन्, त्यी योजनाको सम्झौता भने अब पालिकामा हुन्छ । उहाँहरुकै कारणले आज छुट्यो ।’

हालसम्म ४ वटा वडामा पुगेको पालिकाको टोलीले ९२ वटा योजनाहरु सम्झौता गरेको छ । वडा नम्बर २ मा २७ वटा, ४ मा २२, ५ मा २१ र वडा नम्बर ६ मा २२ वटा योजनाहरु सम्झौता भएको योजना शाखा प्रमुख राईले बताउनुभयो ।

योजना सम्झौताका लागि गाउँपालिकाको कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न वडामै सम्झौता गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । कागजपत्र नपुग्दा पालिका आएर पुनः वडामा फर्कनु पर्ने उपभोक्ता समितिको दुःख थियो । जसकारण सबै उपभोक्ताहरुको सहजताका लागि वडामा योजना सम्झौता गर्ने अभियान चलाइएको उहाँको भनाइ छ ।

अघिल्लो वर्षहरुमा पालिका पुगेर योजना सम्झौता गर्दै आएका उपभोक्ताहरु यो वर्ष वडामै सम्झौताहुँदा सहज भएको बताउछन् । योजना सम्झौतासँगै बैंकको खाता खोल्ने काम पनि वडामै हुनु पर्ने उपभोक्ताहरुको माग रहेको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । ‘योजना सम्झौता वडामाहुँदा उपभोक्ताहरु खुशी भएका छन् । तर बैंक खाता पनि यहिँ खोलिएको भए झन सहज हुने उनिहरुको माग छ ।’ कार्कीले भन्नुभयो, ‘आगामी वर्षहरुमा बैंकसँग समन्वय गरेर उक्त काम पनि गर्ने गरी हाम्रो पहल रहनेछ ।’