
खोटाङ, कात्तिक २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने तलब कटाएर जाजरकोट र रुकुमका भूकम्पपीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । उनिहरुले पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर रु ११ लाख बढी आर्थिक भूकम्पपीडितलाई सहयोग गरिएको हो ।
जनप्रतिनिधि, कर्मचारी र शिक्षक गरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको रु ११ लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप पठाइएको नगरपालिकाले जनाएको छ । भूकम्पपीडितका लागि राहतस्वरुप उक्त रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो ।
“कातिक–१७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । यसप्रति हाम्रो नगरपालिका दुःख व्यक्त गर्दछ । यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कातिक–१९ गते बसेको बैठकको निर्णयअनुसारले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलबभत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप रु ११ लाख ५१ हजार १०० रकम उपलब्ध गराइएको छ”, नगर प्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “भूकम्पका कारण मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ ।”

