Saturday, July 27News That Matters

तीर्थालुका लागि त्रि–धार्मिक स्थल हलेसीमा सुविधायुक्त अतिथि गृह

त्रि–धार्मिक स्थल हलेसीमा निर्माण गरिएको सुविधायुक्त अतिथि गृह, तस्विर : राजमुकार भट्टराई

खोटाङ, कात्तिक २२ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब ५ करोडको लगानिमा सुविधायुक्त अतिथि गृह निर्माण गरिएको हो ।

त्रि–धार्मिक स्थल हलेसीमा आउने तीर्थालुको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका र नेपाल आयल निगमले संयुक्त लगानिमा भवन निर्माण गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ बाट भवन निर्माण गर्न सुरु गरिएको थियो । सुरुमा सबै लगानि आयल निगमको हुने भनिएको थियो । तर आयल निगमबाट रु २ करोडमात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु २ करोड ९६ लाख बजेट विनियोजन गरेर भवन निर्माण सम्पन्न गरेको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कुल लागत रु ४ करोड ९६ लाख (भ्याटसहित) अनिल लक्ष्मि जेभी निर्माण कम्पनीले अतिथि गृह निर्माण गरेर जिम्मा लगाइसकेको छ ।

हलेसी मन्दिर (गुफा) भन्दा केही माथि रहेको गुराँसेस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको सुविधायुक्त अतिथि गृह आरसिसि तीन तलाको रहेको छ । भवनको तल्लो तलामा हल र किचन बनाइएको छ । माधिल्लो दुई तलामा तीर्थालुका लागि कोठाहरु निर्माण गरिएको छ । जसमा एटेज कोठा ६ वटा रहेका छन् भने कमन कोठा २३ वटा रहेका छन् । भवन भरी १८ वटा बाधरुम निर्माण गरिएको छ । १ सय ३८ फिट लम्बाइ र ३६ फिट चौडाइ रहेका भवनमा दुईतर्फबाट सिडि बनाइएको छ ।

अतिथि गृहको अब कम्पाउण्ड निर्माण, सर्पोट रेलिङ र कोठामा बेडहरु राख्ने काम बाकी रहेको छ । बाकी रहेको काम अर्को टेण्डरमार्फत चाडै सकेर सञ्चालनमा ल्याउने मेयर राईले बताउनुभयो । ‘केही बाकी रहेका कामहरु चाडै सकेर हामी सञ्चालनमा ल्याउँछौँ । निजि साझेदारी ऐनहरु हामीले पास गरेका छौँ, सोही अनुसार कार्यविधि तयार गरेर हामी अतिथि गृह सञ्चालनमा ल्याउँछौँ ।’ मेयर राईले भन्नुभयो, ‘हेर्दा अहिले ठुलो लगानि देखिन्छ तर भोली दीगो आम्दानीको रुपमा रहनेछ ।’ नगरपालिकाको दीगो आम्दानीसँगै महंगो होटलमा बस्नु पर्ने तीर्थालुको सहजताका लागि अतिथि गृह निर्माण गरिएको मेयर राईले बताउनुभयो ।

त्रिधार्मिक स्थल हलेसीमा नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न तीर्थालुहरु आउने गरेका छन् ।

हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्ने गरेका छन । हिन्दु, बौद्ध र किरात तिनै वटा धर्महरुको आ–आफ्नै छुट्टै इतिहास रहेको जानकारहरु बताउछन् ।

हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । अन्य समयमा पनि प्राय दैनिकरुपमा दर्शनार्थीहरु हलेसी मन्दिरको दर्शन गर्न तथा अवलोकन गर्न आउने गरेका छन् ।

त्रि–धार्मिक स्थल हलेसीमा निर्माण गरिएको सुविधायुक्त अतिथि गृह, तस्विर : राजमुकार भट्टराई