Saturday, July 27News That Matters

पाठेघर खसेका महिलाको उपचार गर्न नगरले लग्यो अस्पताल

अप्रेसनका लागि नगरपालिकाले अस्पताल लगेका महिलाहरुको स्वास्थ्य अवस्था बुझ्दै मेयर विमला राई ।

खोटाङ, मङ्सिर ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलालाई उपचारकालागि अस्पताल लगेको छ । वडासम्म पुगेर पाठेघर खसेको महिलाको पहिचान गरी उपचारका लागि काभ्रेको बनेपास्थित सीरमेमोरीयल अस्पताल लगेको हो ।

पाठेघर खसेका महिलाको पहिचान तथा उपचारका लागि नगरपालिकाले हरेक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले अघिल्लो वर्ष सोही अस्पताल पु¥याएर २० जना महिलाको निःशूल्क अप्रेसन गराएको थियो । यो वर्ष थप महिलाहरुको पहिचान भएपछि अप्रेसनका लागि २० जनालाई शनिबार अस्पताल लगिएको मेयर विमला राईले बताउनुभयो ।

अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सामुदायिक सेवा प्रतिष्ठान नेपालसँगको समन्वयमा महिलाहरुको निःशूल्क अप्रेसन गर्ने ब्यवस्था मिलाईएको उहाँको भनाइ छ । जसअनुसार अस्पतालसम्म जान, आउन, खान, बस्न कुनै पनि शूल्क लाग्ने छैन् । बिरामीसँगै एक जना बिरामीको कुरुवा पनि लगिएको छ । नगरपालिकाले निःशूल्क ब्यवस्था गरेसँगै अस्पतालसम्म आवतजावत गर्न र उपचार गर्न लाग्ने एक जना बिरामीको करीब रु ७० हजार रकम जोगिएको छ ।

पाठेघर खस्ने समस्या भएका महिलाहरुले आफ्नो रोगको विषयमा खुलेर नभन्दा लामो समय उनिहरु रोग पालेर बसिरहनु पर्ने बाध्यता छ । अशिक्षाका कारण उनिहरुले यस्तो रोग प्रायः लुकाउने गर्छन । जसकारण नगरपालिकाले स्वास्थ्यकर्मी खटाएर वडा एवं घरसम्मै पुगी रोगको पहिचान तथा उपचार गराइरहेको मेयर राईले बताउनुभयो ।

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि वडा तथा टोलसम्म पुगेर पाठेघर खसेका महिलाको पहिचान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । सबै वडामा यस वर्ष १ सय ५२ जना महिलाको पाठेघर सम्बन्धि समस्या भएको पहिचान भएको थियो । पहिलो चरण र दोस्रो चरण समस्या भएका महिलाको पाठेघरमा रिङपेसरी एवं औषधि राखेर सोही ठाउँमा उपचार गरिएको उहाँको भनाइ छ । तेस्रो र चौथो चरणको समस्या भएका २४ जना महिलाको पहिचान भएको थियो । उनिहरुको अप्रेसनमार्फत उपचार गर्नु पर्ने भएकाले सीरमेमोरीयल अस्पताल लगिएको घिमिरेले बताउनुभयो । २४ जनामा ४ जना भने विभिन्न कारणले जान नमानेकाले २० जनालाई अस्पताल पु¥याइएको उहाँको भनाइ छ ।

यस्तै, केही दिन अघि खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि सोही अस्पतालमा लगेर २३ जना महिलाकोको अप्रेसन गराएको थियो ।