Saturday, July 27News That Matters

रावा बेसी गाउँपालिकामा सुविधा सम्पन्न प्रशासनीक भवन शिलान्यास

सुविधा सम्पन्न प्रशासनीक भवन शिलान्यास गर्दै पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी ।

खोटाङ, माघ २२ । खोटाङको रावा बेसी गाउँपालिकाले सुविधा सम्पन्न प्रशासनीक भवन निर्माण गर्न सुरु गरेको छ । करीब ५ करोड लागतमा निर्माण हुने भवन सोमबार पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।

यस अघि गाउँपालिका ट्रस्ट भवन निर्माण गरेर सञ्चालन भइरहेको थियो । रु ४ करोड ७६ लाख १६ हजार ७ सय ९० रुपैयाँ ३६ पैसा लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो । उक्त भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाले जनाएको छ । हाल गाउँपालिका सञ्चालन भइरहेको ट्रस्ट भवन भत्काएर सोही ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो ।

ट्रस्ट भवन भत्काइएपछि सभाहलको लागि निर्माण गरिएको भवनमा कोठा बारेर गाउँपालिका सञ्चालन गरिएको छ । स्वास्थ्य शाखा भने नजिकै ब्यक्तिको घरको एक कोठा भाडामा लिएर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिनुभयो ।

३० महिनामा सक्ने गरी एसई धुम एमकेएस जेभीले भवन निर्माणको जिम्मा लिएको छ । भवन निर्माणको लागी जेभीले गत असोज २१ गते सम्झौता गरेको थियो । सोमबार शिलान्यास गरिएको भवन निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । गाउँपालिकाको ४० प्रतिशत र संघ सरकारको ६० प्रतिशत लागतमा भवन बन्न लागेको अधिकृत रेग्मीले बताउनुभयो ।

देश संघीय संरचनामा गएसँगै साविको कुभिण्डे, खार्पा, लामिडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाउँ विकास समितिलाई समेटेर एउटा स्थानीय तह घोषणा गरिएको थियो । उक्त ६ गाविस समेटेर छुट्टै स्थानीय तह निर्माणका लागि वर्तमान गाउँपालिका अध्यक्ष श्रेष्ठ लगायतको टोलीले अनसन बस्नेसम्मको आन्दोलन गरेका थिए । त्यसपश्चात छुट्टै स्थानीय तह घोषणा गरिएको थियो । सुरुमा खार्पा केन्द्र र लामिडाँडा गाउँपालिका तोकिएपछि सबै नागरिकलाई पायक नपर्ने भन्दै कुभिण्डे, हौँचुर, दुवेकोल र डुम्रेधारापानीका नागरिकहरु आन्दोलनमा उत्रिएका थिए । केही समय पछि निर्वतमान गाउँपालिका अध्यक्ष लिलानाथ निरौला नेतृत्वको कार्यापालिकाको निर्णयले गाउँपालिकाको नाम रावा बेसी तोक्दै केन्द्र कुभिण्डेको हरमटारमा सारेका थिए ।

सुरुमा हरमटारमा ब्यक्तिको घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिएको थियो । केही समय पश्चात गाउँपालिकाले निःशूल्क जग्गा प्राप्त गरेसँगै ट्रष्ट भवन निर्माण गरेर गाउँपालिका सारिएको थियो । हाल हरमटारमा कर्मचारी निवास, सभाहल र चिस्यान केन्द्र गरी तीन वटा भवन निर्माण भइसकेका छन् । तत्कालको लागि कर्मचारी निवासमा राष्ट्रिय वाणिज्य बैंक र ५ शैयाँको अस्पताल सञ्चालन गरिएको छ ।

गाउँपालिकाको केन्द्र हरमटार सारिएको विरुद्धमा अदालतमा मुद्दासमेत परेको थियो । त्यसपछि गाउँपालिकाको केन्द्रको विषयमा लामो समय पुनः विवाद भयो । पालिकाको केन्द्रको विषय राजनीतिक दलहरुको चुनावी एजेण्डासमेत बन्ने गरेको थियो । तर गत जेठमा सर्वोच्च अदालतले पालिकाको केन्द्र हरमटारनै कायम रहने गरी फैसला गरेपछि विवाद टुंगिएको छ ।

हरमटारमा पालिका केन्द्र भएसँगै हाल बस्तीहरु ब्स्न थालेका छन् । सुरुमा सुनसान रहेको रहमटारमा बिस्तारै बस्ती बाक्लिदै गएको छ । हरमटारमा प्रहरी चौकीसमेत राखिएको छ ।