Saturday, July 27News That Matters

खोटाङमा बिरामी मार्ने नक्कली डाक्टर ११ वर्षपछि पक्राउ

खोटाङ, माघ २९ । नक्कली प्रमाण–पत्रधारी स्वास्थ्यकर्मीलाई कर्तव्य ज्यान मुद्धामा ११ वर्षपछि पक्राउ गरिएको छ । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा सञ्चालित हलेसी पोलीक्लिनिकमा उपचारका क्रममा लापरवाहीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको भन्दै मृतक परिवारले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जिवानन्द मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

नक्कली प्रमाणपत्र बोकेर मेहताले ‘डाक्टर हुँ’ भन्दै उपचार गर्ने गरेका थिए । पोलीक्लिनिकमा उपचार गराउन आएका बाम्राङका राईको २०६९ फागुन १७ गते साँझ मृत्यु भएको थियो । पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएको पाँच मिनेटपछि बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त देबीसरा राईले २०६९ चैत्र १४ गते मेहता विरुद्ध किटानी जाहेरी दिएका थिए । फरार रहेका नक्कली डाक्टर मेहतालाई माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

तत्कालिन अवस्थामा आयुर्बेदमा एचए उत्तिर्ण गरेका मेहताले चीनबाट एमबिबिएस गरेको नक्कली प्रमाण–पत्र पेश गरेर उपचार गरिरहेको छानबिनको क्रममा खुलासा भएको थियो । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले सोही दिनदेखि महिना दिनसम्म पोलीक्लिनिकमसेत बन्द गराएका थिए ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा दुबै पक्षबीच मृतकको उपचारमा संलग्न मेहतालाई कारबाही गर्ने, पोलीक्लिनिकको सेवा सुबिधालाई पारदर्शीढंगले सञ्चालन गर्ने, एमबिबिएस डाक्टर राखेर मात्र पोलीक्लिनिक सञ्चालन गर्ने, सार्वजनिक सुचना आव्हान गरेर मात्र कर्मचारी छनौट गर्ने लगायतका बुँदाहरुमा सहमती भएपछि बन्द पोलीक्लिनिक २०७९ चैत २९ गतेदेखि खुलाइएको थियो । नक्कली डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको हल्ला फैलिएपछि बिरामी जान छाडेपछि पोलीक्लिनिक स्वःत बन्द भएको थियो ।

प्रहरीले सोही पोलिक्लिनिक सम्वद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का महेशप्रसाद शाह र बोदेबरसाईन नगरपालिका–२ का अशोक कुमार साहलाई पनि अनुसन्धानका लागि माघ २८ गते पक्राउ गरेको छ । पक्राउ परेका तीनैजना बिरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।