Friday, April 17News That Matters

खोरमा थुनिएकी फुर्दिकुको उद्दार गरेर अस्पताल लगियो

खोटाङ, फागुन १४ । उपचार अभावमा खोरमा थुनिएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी फुर्दिकु शेर्पाको उद्दार गरिएको छ । नगरपालिकाले सम्पुर्ण खर्च बेहोर्ने गरी उपचारका लागि ३० वर्षीया शेर्पालाई मंगलबार उद्दार गरेर काठमाडौं लगिएको हो ।

मानसिक सन्तुलन गुमाएकी फुर्दिकुलाई परिवारले आगनमा काठको खोर बनाएर राखेका थिए । भेटिएको जो कसैलाई ढुङ्गा र हतियारले आक्रमण गर्ने, सामानहरु फुटाइदिने, घर परिवारका सदस्यलाईसमेत आक्रमण गरेपछि बाध्य भएर थुनेर राखिएको बुवा पेमा शेर्पाले बताउनुभयो । उपचारको लागि अस्पताल लान परिवारसँग प्रयाप्त आर्थिक नहुँदा फुर्दिकुलाई गत माघ १६ गतेदेखि थुनेर राखिएको थियो । फागुन १२ गते विभिन्न मिडियाले फुर्दिकुको विषयमा समाचार प्रकाशन गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्दार गरेको हो ।

मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुर्दिकुलाई अस्पताल लान गाडीमा चडाइदै ।

नगरपालिकाले व्यवस्था गरिदिएको सुमो गाडीमा मंगलबार बिहान परिवार र स्थानीयले काठमाडौं पठाएका छन् । फुर्दिकुसँग बुवा र कान्छी बहिनीसमेत गएका छन् । फुर्दिकुको लगनखेलस्थित मानसिक अस्पतालमा निःशूल्क उपचारको लागि व्यवस्था मिलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । राष्ट्रिय महिला आयोग काठमाडौंसँग सम्मन्वय गरेर उनको उपचारको व्यवस्था मिलाइएको मेयर भट्टराईको भनाइ छ ।

हाल मानसिकरुपमा अस्वस्थ ३० वर्षकी शेर्पा विवाहित हुन् । उनको ६ वर्षको एउटा छोरा पनि छन् । उनको श्रीमानको भने मृत्यु भइसकेको छ । उनी अहिले माइती घर नुनथलामा बस्दै आउकी छिन् । शेर्पामा यस्तो समस्या देखिएको यो पहिलो पटक हैन् । कक्षा १० मा अध्ययन गर्दैगर्दा पहिलो पटक समस्या देखिएर उपचार पश्चात ठिक भएकी शेर्पामा श्रीमानको मृत्यु पश्चात पुनः सोही समस्या दोहोरिएको थियो । करीब तीन वर्ष अघि पाटन अस्पताल लगेर औषधि उपचार गरेपछि ठिक भएकी शेर्पा अहिले पुनः सोही समस्याको सिकार बनेकी हुन् ।

डेढ महिना अघिसम्म शेर्पाको दैनिकी सामान्य थियो । तर, अचानक उनको बानी व्यवहारमा परिवर्तन आएको थियो । फुर्दिकुलाई थेग्न नसकेपछि परिवारले घरको आगनमा काठले बारेर सानो खोर बनाएका छन् । सोही खोर भित्र उनलाई राखिएको थियो । समय समयमा खाना खाजा उनलाई खोर भित्रै परिवारका सदस्यले दिने गरेका थिए । खोर भित्रै गीत गाउने, नाच्ने कपडाहरुलाई आफ्नो बच्चा भन्दै खेलाउने लगायतको क्रियाकलाप उनको दैनिकी बनेको थियो । खोर भित्रै खाने, बस्ने र खोर भित्रै दिसा पिसाब गर्दै आएकी फुर्दिकुलाई उद्दार गरिएको हो ।

सहयोग रकम हस्तान्त्रण

उपचार अभावमा फुर्दिकु खोरमा थुनिएको समाचार पढेपछि तथा हेरेपछि विभिन्न ब्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग गरेका छन् । आएको सहयोग रकम पत्रकार महासंघ खोटाङका सहसचिव चिसाङ शेर्पाले संकलन गर्नुभएको थियो । हालसम्म संकलन भएको रु ३० हजार ५ सय पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दमन राईले परिवारलाई हस्तान्त्रण गर्नुभएको छ ।