Saturday, July 27News That Matters

हलेसी तुवाचुङका विद्यालयमा धमाधम भवन उद्घाटन, शान्ति आविले पायो नयाँ भवन


खोटाङ, वैशाख २६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित शान्ति आधारभुत विद्यालयको नयाँ भवन बुधबार उद्घाटन गरिएको छ । यस वर्ष नगरपालिकाको लगानीमा ९ वटा विद्यालयका भवनहरु निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएको शान्ति आविको तीन कोठे आरसिसि भवन मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गर्नुभएको हो ।

पञ्चावती आधारभुत विद्यालय मंगलटारको भवन पनि सम्पन्न पश्चात मंगलबार उद्घाटन गरिएको छ । कालिका आवि डिकुवाको भवन निर्माण सम्पन्न भएर उद्घाटन गर्न मात्र बाकी रहेको बताइएको छ । शान्ति आवि, पञ्चावती आवि र कालिका आवि तीन वटा विद्यालयको भवन निर्माणको जिम्मा सुदेवि कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लिएको थियो । उक्त निर्माण कम्पनीले सम्झौता मिति भन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न गरेर २ वटा भवन उद्घाटन गरिएको छ ।

भ्याटसहित ८८ लाख ९९ हजार ६ सय ८१ रुपैयाँ ४५ पैसामा तीन वटा भवन निर्माण गर्न जेठ १५ गते सक्ने गरी मंसिर २ गते ठेक्का सम्झौता भएको थियो । सुदेवि कन्स्ट्रक्सनले सम्झौता मिति भन्दा १ महिना अगाडि नै भवन निर्माण सम्पन्न गरेको छ । जिम्मेवार भएर काम गरेकाले तीन वटै विद्यालयको भवन सम्झौता मिति अगाडी नै सकिएको निर्माण कम्पनीका प्रमुख सुबास राईले बताउनुभयो ।

बुधबार भवन उद्घाटन गरिएको शान्ति आविमा कक्षा ८ सम्म पठनपाठन भइरहेको छ । विद्यालयमा कक्षा कोठाहरुको अभाव थियो । नगरपालिकाले नयाँ भवन निर्माण गरिदिएसँर्गै अब सहज हुने प्रधानाध्यापक उमेश कुमार बस्नेतले बताउनुभयो । शान्ति आविमा अहिले ७० जना विद्यार्थी भर्ना भएका छन् । अन्य विद्यालयको तुलानामा उक्त विद्यालयमा विद्यार्थी संख्या उल्लेखनीय रहेको कारण नयाँ भवन निर्माण गरिएको बडहरेका वडाध्यक्ष किशोर बस्नेतलले बताउनुभयो ।

नगरपालिकामा धेरै विद्यालयहरुको संरचना कमजोर भएकाले नगरले भवन निर्माणमा लगानी गरेको उपमेयर रमेश कुमार राउतले बताउनुभयो । अझै पनि केही विद्यालयको संरचनाहरु निर्माण गर्नु पर्ने देखिएको उहाँको भनाइ छ ।
यस्तै, विद्यालयको उद्घाटन गर्नुहुँदै मेयर विमला राईले विद्यालयको आधारभुत आवश्यकता भौतिक संरचना भएकाले नगरपािलकाले त्यसमा लगानी गरेको बताउनभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न विभिन्न कार्यक्रम गरिरहेको नगरपालिकाले विद्यालयको संरचना बलियो बनाउन भवनहरु निर्माण गरेको उहाँको भनाइ छ । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको मेयर राईले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट ९ वटा विद्यालयका भवनहरु नगरपालिकाले निर्माण गरेको हो । २ वटा विद्यालयको भवन उद्घाटन भइसकेका छन् । एउटा निर्माण सम्पन्न भएको र अन्य ६ वटा धमाधम निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।