Saturday, July 27News That Matters

विद्यार्थीले ४ लाख ६८ हजारसहित बिदाइ गरे अवकाश पाएका कार्यालय सहयोगीलाई

कार्यालय सहयोगी पर्शुराम भुजेललाई रकमसहित सम्मान गरेर बिदाइ गरिदै ।

खोटाङ, वैशाख २८  । अनिवार्य अवकाश पाएका विद्यालयका कार्यालय सहयोगीलाई भूतपूर्व विद्यार्थीले नगदसहित बिदाइ गरेका छन् । ४० वर्ष अस्थायीरुपमा काम गरेका कर्मचारीलाई भूतपूर्व विद्यार्थीले ४ लाख ६८ हजार ७ सय ११ रुपैयाँ रकमसहित बिदाइ गरेका हुन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयमा २०४१ सालदेखि कार्यालय सहयोगी काम गर्नुभएका पर्शुराम भुजेल गत चैत मसान्तदेखि उमेरहदका कारण अनिवार्य अवकाश हुनुभएको छ । अस्थायीरुपमा विद्यालयमा ४० वर्ष काम गर्नुभएका भुजेललाई भूतपूर्व विद्यार्थीहरुले रकम संकलन गरेर सम्मानसहित बिदाइ गरेका हुन् ।

२० वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म विद्यालयमा पसिना बगाउनुभएका भुजेललाई सरकारले खाली हात घर पठाएकाले विद्यार्थीहरुले रकम संकलन गरेर सम्मान गरेको भूतपूर्व विद्यार्थी उत्तम खड्काले बताउनुभयो । २०२१ सालमा छितापोखरीमा जनसेवा प्राथमिक विद्यालयको स्थापना भएको थियो । हाल जनसेवा माध्यमिक विद्यालय भएको छ । उक्त विदालयमा ४० वर्ष कार्यालय सहयोगी भएर भुजेलले काम गर्नुभयो । मासिक १ सय ६५ रुपैयाँ तलबबाट जागिर सुरु गर्नुभएका भुजेलको हाल १० हजार मासिक तलब आउथ्यो ।

‘उमेरहुँदासम्म विद्यालयमा अस्थायीरुपमा उहाँले काम गर्नुभयो, बुढेसकालमा सरकारले खाली हात घर पठायो ।’ खड्काले भन्नुभयो, ‘त्यसैले उहाँको बाकी जीवन यात्रामा केही सहज होस् भनेर विद्यालयका २ सय ५ जना भूतपूर्व विद्यार्थीहरुले रकम संकलन गरेर ४ लाख ६८ हजार ७ सय ११ रुपैयाँ प्रदान गरेका छौँ ।’ विद्यालयका प्रधानाध्यापक कोपिला राई, व्यवस्थापन समिति अध्यक्ष बिरकाजी खड्का लगायतका ब्यत्तिहरु पनि रकम संकलन अभियानमा लाग्नुभएको उहाँको भनाइ छ ।

गत चैत मसान्तबाट अनिवार्य अवकाश हुनुभएका भुजेललाई वैशाख २७ गते बिहिबार भूतपूर्व विद्यार्थीहरुले संकलन गरेको रकमसहित विद्यालयबाट बिदाइ गरिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, छितापोखरीका वडाध्यक्ष मिलन राई लगायतका ब्यक्तिहरुले रकम हस्तान्त्रण गरेर बिदाइ गरेका हुन् ।

भूवपूर्व विद्यार्थीहरुले रकम संकलन गरेर उक्त जनसेवा माध्यमिक विद्यालयमा अघिल्लो वर्ष सरस्वतीको मन्दिरसमेत बनाएका छन् ।