Saturday, July 27News That Matters

क्षयरोगको उपचार गरिरहेका बिरामीलाई नगरपालिकाद्धारा पोषण सहयोग


खोटाङ, जेठ १ । क्षयरोगका बिरामीलाई हलेसी तुवाचुङ नगरपालिकाले पोषण सहयोग गरेको छ । क्षयरोग लागेर उपचार गरिरहेका बिरामीलाई नगरपालिकाले चामल, दाल लगायतको पोषण सहयोग गरेको हो ।

नगरपालिकामा ९ जना क्षयरोगका बिरामी रहेका छन् । उनीहरुलाई नेपाल सरकारले निःशूल्क उपचार गरिरहेको छ । नगरपालिकाका स्वास्थ्यकर्मीको निगरानीमा औषधि खाईरहेका उक्त बिरामीहरुलाई नगरपालिकाले पोषण सहयोग गरेको हो । एक बोरा चामल, २ किलोग्राम दाल, एक क्यारेट अण्डा, एक लिटर तेल, पाँच किलोग्राम पिठो सहयोग गरिएको नगरपालिकाले जनाएको छ । मंगलबार वडा नम्बर ५ दुर्छिममा आयोजना गरिएको अपांगता शिविरमा मेयर विमला राईले सोही वडाका क्षयरोगका बिरामी सन्तोष राउतलाई पोषण सामाग्री प्रदान गर्नुभएको हो ।

अन्य ८ जना बिरामीलाई पनि सोही प्रकारको पोषण केही दिन भित्रमा प्रदान गरिने स्वास्थ्य शाखामा कार्यरत अहेव बिबेक पराजुलीले बताउनुभयो । हाल स्वास्थ्यकर्मीले हरेक नागरिकको घर घरमा पुगेर अन्य क्षयरोगीहरुको पनि खोजि भइरहेको उहाँको भनाइ छ ।

मंगलबार दुर्छिममा भएको शिविर तथा पोषण प्रदान कार्याक्रममा मेयर राईसँगै प्रमुख प्रशासकीय अधिकृत कैलास बहादुर ठकुराठी, स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरे, डा. मनिस पोखरेल लगायतको उपस्थिति थियो ।