Monday, May 12News That Matters

गाउँ फर्किनेलाई पालिकाको एक लाख

गाउँ फर्किएका बोदबहादुर खड्कालाई एक लाखको चेक हस्तान्त्रण गर्दै गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा ।

खोटाङ, वैशाख ५ गते । बसाइसराइँ गरेर गएपनि पुनः गाउँ फर्किने परिवारलाई खोटाङको बराहपोखरी गाउँपालिकाले एक लाख प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ दिएको हो ।

बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइसराइँ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्ष पछि उनीहरु पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइसराइँले गाउँ खालीहुँदै गएको छ । गाउँ छाडेर जानेहरुको संख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिना अघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले वैशाख ४ गते घरमै पुगेर एक लाख रकमको चेक हस्तान्त्रण गर्नुभएको हो ।

आफ्नो जन्मथलोको माया लागेर गाउँ फर्किएको बोदबहादुर खड्काको भनाइ छ । पुरानो आफ्नो जग्गा जमिनमा उब्जा लगाएर परिवार चलाउने योजनासहित आफु गाउँ फर्किएको खड्काले बताउनुभयो ।

गाउँ फर्किनेहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ बाट एक लाख रुपैयाँ रकम दिने नीति लिएको पालिका अध्यक्ष बञ्जराले बताउनुभयो । आफ्नो जग्गा जमिन बिक्री नगरी गाउँ छाडेर जानेहरु धेरै छन् । उनीहरु पुनः गाउँ फर्किन चाहेकोहुँदा प्रोत्साहनका लागि गाउँपालिकाले पनि एक लाख दिने कार्यक्रम ल्याएको उहाँको भनाइ छ । गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम प्रभावकारी भएमा रकम वृद्धि गर्ने योजना रहेको पालिका अध्यक्ष बञ्जराले बताउनुभयो ।