Thursday, March 5News That Matters

पूर्ण खोप सुनिश्चितता घोषणा हुने जिल्लाकै पहिलो बन्यो रावा बेसी गाउँपालिका


खोटाङ, वैशाख १८ । खोटाङको रावा बेसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा रावा बेसी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो स्थानीय तह बनेको छ ।

खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि रावा बेसीलाई बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाएपछि वडाहुँदै पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।

जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ बालबालिकाले पूर्ण खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्यकर्मी र महिला स्वयम्सेविकालाई सम्मानसमेत गरिएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियानमा खटिने ९ वटा स्वास्थ्य संस्था र महिला स्वयम्सेविकालाई सम्मान गरिएको अधिकारीले बताउनुभयो ।

अन्य स्थानीय तहहरुले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी गरिरहेका छन् । केही स्थानीय तहले वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिरहेका छन् । केही स्थानीय तहले भने वडा सकेर पालिकलाई घोषणा गर्ने तरखरमा छन् ।