Monday, January 19News That Matters

खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

सांकेतिक तस्विर

खोटाङ, वैशाख २८ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारकोक्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो । आफ्नै श्रीमानको हत्या अभियोगमा ५३ वर्षीया रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ ।

शनिबार बिहान मकै बारीमा जोत्ने क्रममा सामान्य विवादहुँदा श्रीमती रेनुकाले श्रीमान पाँचकर्णलाई कोदालोको पासोले टाँउकोमा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुसान्त मिश्रले बताउनुभयो । गम्भीर घाइते पाँचकर्णलाई नगर अस्पताल दुर्छिम उपचारको लागि लगिएको थियो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा पाँचकर्णको शनिबार साँझ मृत्यु भएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।

रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई शनिबार बिहान पक्राउ गरिसकेको छ । श्रीमानको हत्या अभियोगमा पक्राउ गरिएको रेनुकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।