Saturday, February 14News That Matters

सुशासनमा हलेसी तुवाचुङ नगरपालिकाको छलाङ, ०.१५ प्रतिशतमा झर्यो बेरुजु

खोटाङ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुशासनमा छलाङ मारेको छ । हरेक वर्ष बेरुजु रकम घटाउदै ल्याएको नगरपालिकाले यो वर्ष ०.१५ प्रतिशतमा झारेको छ ।

महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको बेरुजु ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार रहेको छ । यो वर्ष पनि खोटाङ जिल्लाको सबै भन्दा कम बेरुजु हुने स्थानीय तह हलेसी तुवाचुङ बनेको छ । हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुने स्थानीय तहमा जिल्लाको पहिलो र कोशी प्रदेशको तेस्रो भएको छ । देशभरको ७५३ स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुनेमा १० औँ नम्बरमा रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको प्रतिवेदन अनुसार खोटाङको कम बेरुजु हुने दोस्रो स्थानीय तह ऐसेलुखर्क गाउँपालिका रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको ०.५० प्रतिशत अर्थात ५७ लाख ३५ हजार बेरुजु रहेको छ । यस्तै, रावा बेसी गाउँपालिकाको ०.७३ प्रतिशत अर्थात ६५ लाख ७६ हजार, केपिलासगढी गाउँपालिकाको ०.४८ अर्थात ७९ लाख ५२ हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १.२४ प्रतिशत अर्थात दुई करोड ८५ लाख दुई हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १.०७ प्रतिशत अर्थात एक करोड २२ लाख छ हजार बेरुजु देखिएको महालेखाले जनाएको छ ।

यस्तै, बराहपोखरी गाउँपालिकामा १.८८ अर्थात एक करोड ५३ लाख ५४ हजार, जन्तेढुंगा गाउँपालिकामा १.४६ प्रतिशत अर्थात एक करोड ४२ लाख ५६ हजार र खोटेहाङ गाउँपालिकामा १.४६ प्रतिशत अर्थात एक करोड ८८ लाख ४३ हजार बेरुजु देखिएको छ । जिल्लाको सबै भन्दा बढी बेरुजु साकेला गाउँपालिकाको देखिएको छ । साकेला गाउँपालिकाको २.४३ प्रतिशत अर्थात दुई करोड ७१ लाख दुई हजार बेरुजु देखिएको छ ।

अघिल्लो वर्ष भन्दा यो वर्ष खोटाङका सबै स्थानीय तहले बेरुजु रकम घटाएका छन् । हलेसी तुवाचुङ नगरपालिकाले भने हरेक वर्ष बेरुजु रकम घटाउनेमा छलाङ मारेको छ । यस वर्ष ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार बेरुजु रकम देखिएको नगरपालिकाको अघिल्लो वर्ष ८७ लाख २४ हजार थियो । आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ३३ लाख २६ हजार बेरुजु रहेको थियो । त्यस अघि हलेसी तुवाचुङ नगरपालिकाको बेरुजु ९ करोडसम्म रहेको थियो ।

हरेक वर्ष बेरुजु रकम घटाएर सुशासनमा छलाङ मारिरहेको हलेसी तुवाचुङ नगरपालिकाले हरेक काम कानून अनुसार गर्दा सकारात्मक नतिजा आएको नगर प्रमुख विमला राईको भनाइ छ । ‘हरेक काम हामीले नियम कानून भित्र रहेर गरिरहेका छौँ । कानून, ऐनले दिएको अधिकार भित्र रहेर नगरपालिका सञ्चालन गरिरहेका छौँ । जसको नतिजा बेरुजु कम हुँदै जानुले प्रष्ट पार्छ जस्तो मलाई लाग्छ ।’ नगर प्रमुख राईले भन्नुभयो, ‘एउटा महिलाले नेतृत्व गर्न सक्छ, र महिलाले नेतृत्व गरेको निकाय पारदर्शी र सुशासन हुन्छ भन्ने कुरा पुष्टि गर्नु छ । सोही अनुसार नगरपालिकाका सबै जनप्रतिनिधि, कर्मचारीहरुको साथले हामी सफल पनि भएका छौँ ।’