
खोटाङ, जेठ १० । पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षका सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा बेपत्ता भएका हुन् ।
डिकुवाका वडाध्यक्ष देबेन्द्र राईका अनुसार शनिबार बिहान करिब ११ बजेको समयमा डिकुवा ओख्लाङका बिन्द्र केशर राईका छोरा सविन राईलाई सुनकोशीले बगाएको हो । स्थानीयहरुले खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको वडाध्यक्ष राईले बताउनुभयो । वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले खोजी गरिरहेको उहाँको भनाइ छ । हाल च्यास्मिटार प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जानकारी आउनसाथ च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटिएका हुन् ।
धामी लिन भनेर ओख्लाङबाट सविन र उनका साथी १५ वर्षका सागर राई डिकुवा गएका थिए । सुनकोशी किनारको बाटोहुँदै गएका दुवै जना तुइम्बु बादरेखोप भन्ने ठाउँमा पौडी खेल्न कोशीमा पसेको पाइएको वडाध्यक्ष राईले बताउनुभयो । गर्मी भयो भन्दै कोशीमा पौडी खेल्न पसेका सविन राईलाई भने कोशीले बगाएको हो । सँगै पौडी खेल्न पसेका सागर राईले फोन गरेर परिवारलाई जानकारी गराएका थिए ।
कोशीमा बेपत्ता सविन च्यास्मिटार माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक तेजकुमार चाम्लिङ राईले बताउनुभएको छ ।
