
खोटाङ, जेठ २७ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका महिलाहरु अचार बनाउन सिक्न थालेका छन् । गाउँपालिकाले आयोजना गरेको अचार बनाउने तालिममा डुम्रेधारापानीका २५ जना महिलाहरु सहभागी भएका हुन् ।
महिलाहरुलाई अचारबाट व्यावसायिक बनाउने उदेश्यसहित तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तरगत पाँच दिने अचार बनाउने तालिम सुरु गरिएको शाखा प्रमुख उद्धव बास्तोलाले बताउनुभयो ।
जेठ २३ बाट सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म स्थानीय स्तरमा उत्पादन हुने आप, खुर्सानी लगायतको अचार बनाउन सिक्ने छन् । अचार निर्माणसँगै त्यसको लेबलिङ र प्याकेजिङ पनि सिकाइने बास्तोलाको भनाइ छ ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डे लगायतले उक्त तालिमले महिलाहरुलाई व्यावसायिक बनाउने विश्वास ब्यक्त गरेका छन् ।
