रक्सीले बनायो अनाथ
राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन १६ । मन कुमारी नेपाली, भुमिका नेपाली र माधव नेपाली, यि तीन बालबालिकाको सहारा अहिले उनीहरु आफै हुन् । शरीर ढाक्ने कपडा र पेट अघाउने खाना भए उनीहरुलाई पुग्छ । च्यातिएको कपडासँग उनीहरुको कुनै गुनासो छैन्, गुनासो छ त रक्सीसँग । जसले उनीहरुलाई अनाथ बनायो ।
गाउँमा टन्न रक्सी खाने अनि घर गएर श्रीमती र छोराछोरी कुट्ने टेक बहादुर नेपालीको दैनिकी जस्तै भएको थियो । बेलाबेला श्रीमती निर्मला नेपाली पनि रक्सीको स्वाद लिएपछि श्रीमानसँगै जुध्न तयार हुन्थिन् । रक्सीले टिल्ल भएर टेक बहादुर र निर्मला झगडा गर्न थालेपछि ११ वर्षकी मनकुमारी, ९ वर्षकी भुमिका र ८ वर्षका माधवको रात घर बाहिर कट्थ्यो ।
खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा शारदा माध्यमिक विद्यालय नजिकै उनीहरुको घर रहेको छ । तर, अहिले त्यो घरको ताला खुल्दैन् । त्यो घरको चाबी निर्मला नेपाली सधैका लागि अस्ताइसकिन...









