राजनीतिक प्रतिशोधले वडा कार्यालय एक सातादेखि बन्द, वडाले बुझायो नगरलाई चाबी
खोटाङ, भदौ ३१ । राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय एक सातादेखि बन्द रहेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले गत शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा बन्द गर्दै वडा कार्यालयमा ताला लगाएका छन् ।
वडाका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन् भने गठबन्धनबाट कांग्रेसका तिर्थराज भट्टराई नगर प्रमुख र माओवादीका विसन राई उपप्रमुखमा निर्वाचित हुनुभएको हो । फरक राजनीनितक दल भएकै कारण नगरपालिकाले वडाका सबै कामकाजमा हस्तक्षेप गरेको वडाका जनप्रतिनिधिको आरोप छ । नगरपालिकाले भने वडामा भएका योजनाहरु गुणस्तरहिन भएका कारण भुक्तानी रोकिएको तर कुनै हस्तक्षेप नभएको जनाएको छ । नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विसन राईले कुनै परिक्षण नगरी योजना गुणस्तरहिन रह...









