एउटै वडामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा
खोटाङ, फागुन १९ गते । भौगोलिकरुपमा ठुलो तथा विकट रहेको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा दिन थालिएको छ । दाम्लीमा रहेको डिकुवा स्वास्थ्य चौकीमा वडा भित्रका सबै नागरिकलाई आउन सहज नभएपछि तीन ठाउँबाट सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ ।
दाम्लीमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी यथावत छ । अघिल्लो वर्षदेखि डिकुवाको साविक १, २ र ३ वडालाई समेटेर रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साविक ६, ७, ८ र ९ नम्बर वडाका नागरिकलाई स्वास्थ्य सेवाबाट नजिक बनाउन छुम्पाङमा शनिबारदेखि शहरी स्वास्थ्य केन्द्र सुरु गरिएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयो । छुम्पाङमा अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको रु १९ लाख बजेटबाट ४ कोठे आरसिसि भवन निर्माण गरिएको छ । सोही भवनबाट शनिबारदेखि सेवा दिन सुरु गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।...









