परिश्रमी खम्ब चाम्लिङ, जसले ४० वर्षअघिको बाँझो जमिन खेतीयोग्य बनाए
पवन खड्का/खोटाङ, वैशाख ३ । आधा उमेर देशबाहिर बिताएका हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुरीढाँडका खम्ब चाम्लिङ अहिले ४८ वर्ष पुगे । रोजगारीको सिलसिलामा उनले कतारमा ६ वर्ष, साउदी अरबमा २ वर्ष र भारतका विभिन्न प्रान्तमा १५ वर्ष बढी गरी जीवनको अढाइ दशक खर्चेका छन् ।
एकातिर घरको जेठो सन्तान, अर्कातिर सानै उमेरमा विवाह । त्यसले गर्दा किशोरावस्थामै उनको काँधमा जिम्मेवारीको चाङ आइलाग्यो । परिवार चलाउन उनले सानै उमेरमा ऋणको बोझ बोक्नुपर्यो । लागेको ऋण तिर्ने र प्रशस्त पैसा कमाएर परिवारलाई सुखले पाल्ने सुनौलो सपना लिएर विदेश पसेका उनले रोजगारीको सिलसिलामा अनेकन समस्या झेल्नुपर्यो । कहिले काम गर्ने कम्पनी राम्रो परेन त कहिले सोचे अनुुसारको काम पाएनन् ।
स्वभावैले मान्छे एकातिरबाट आशा गरिएको प्रतिफल प्राप्त नभएपछि अर्कातिर लाग्छ । त्यही आशाले वैदेशिक रोजगारीका दौरान यताउता गर्दागर्दै उनको आधा उम...









